युरोप छिर्ने अवैध बाटो र फ्रान्समा ‘नक्कली शरणार्थी’ बन्ने प्रक्रिया :

 

झुटो कथा, किर्ते कागजात र बिचौलिया (दलाल) हरूको ठगीधन्दा

नेपालमा फ्रान्सका नेपालीहरु सँग सम्पर्क भएका र वैदेशिक रोजगारीमा पठाउने दलालहरू काठमाडौंमा सक्रिय भेटिन्छन्। उनीहरूले मुख्यगरी सिजनल भिसा (Seasonal Visa) को प्रलोभन देखाएर मानिसहरूलाई फ्रान्स छिराउने आश्वासन दिन्छन्। कतिपय अवस्थामा त विदेश जानुअघि नै ‘असाइलम’ (शरणार्थी) आवेदनका लागि आवश्यक नक्कली कागजातहरू समेत बनाउन लगाइन्छ। नेपालबाट जानु भन्दा अगाडि नै दलालहरूले सबै सिकाउने गर्छन् — कसरी जाने, कसलाई भेट्ने, अनि कसैले सोधे के–के भन्ने लगायत कानुनलाई कसरी छल्ने भन्ने पनि।



दलालहरूले अपनाउने प्रक्रिया:
  • सस्तो विकल्पको खोजी: टुरिस्ट भिसा पाउन गाह्रो हुने र बैंक ग्यारेन्टी लगायतका झन्झटिलो प्रक्रिया हुने भएकाले दलालहरूले सस्तो र सजिलो उपायको रूपमा सिजनल भिसाको बाटो रोज्छन्।
  • प्रवेश विन्दु (Entry Points): सुरुमा नेपालीहरूलाई क्रोएसिया, अस्ट्रिया, रोमानिया वा पोल्याण्ड जस्ता पूर्वी युरोपेली देशहरूको ‘सिजनल वर्क पर्मिट’ वा ‘भिजिट भिसा’ मा युरोप छिराइन्छ।
  • अवैध सीमा पार: ती देशहरूमा पुगिसकेपछि त्यहाँका स्थानीय दलालहरूलाई थप ६०० देखि ९०० युरो बुझाएर ट्याक्सी, बस वा अन्य सवारी साधनमार्फत रोडको बाटो लुकीछिपी फ्रान्स, जर्मनी, स्पेन वा इटाली पुर्‍याइन्छ।
  • असाइलम प्रक्रिया: जहाँको ‘रेसिडेन्स कार्ड’ (Residence Card) को महत्त्व बढी छ र सामाजिक सुविधाहरू राम्रो छन्, त्यहाँ पुगेपछि उनीहरूले आफ्नो पासपोर्ट लुकाउने वा नष्ट गर्ने गर्छन्। त्यसपछि आफूलाई असुरक्षित देखाउँदै ‘असाइलम’ प्रक्रिया सुरु गर्छन्।

असाइलम गरिदिने भनेर नक्कली कागजहरू बनाउने गिरोह

यस अवैध प्रक्रियामा नेपालदेखि युरोपसम्म एउटा ठूलो सञ्जाल जोडिएको हुन्छ। विशेषगरी पेरिस र युरोपका अन्य सहरहरूमा बसेका केही व्यक्तिहरूले यसलाई आफ्नो मुख्य आयस्रोत (Income Source) बनाएका छन्। यी दलालहरूको एउटा समूह फ्रान्सको पेरिसमा पनि सक्रिय छ। यसमा संलग्न व्यक्तिहरू प्रायः त्यहाँका स्थानीय समाज वा संस्थाहरूका सदस्यका आफन्त र आसेपासे हुने गर्दछन्। उनीहरूले नेपालबाट जाने नेपालीहरूको ‘असाइलम’ (Asylum) प्रक्रिया मिलाइदिने बहानामा कमाउने भाँडो बनाएका छन्। दलालहरू नेपालका एजेन्टहरूसँग सिधा सम्पर्कमा हुन्छन्। उनीहरूले पेरिस पुगेका नेपालीहरू खोज्दै कनेक्सनमा आइपुग्ने गर्दछन।

८००–९०० युरो लिएर रोडको बाटो पेरिस पुर्‍याउने प्रक्रिया

यस्ता बिचौलिया र दलालहरूले नयाँ आउनेलाई असाइलम प्रक्रियाबारे जानकारी दिने, अन्तर्वार्तामा कसरी बोल्ने, कस्तो कथा प्रस्तुत गर्ने र कस्ता कागजात आवश्यक पर्छ भन्ने विषयमा सल्लाह दिने र त्यो बापत मोटो रकम असुल्ने गर्दछन। दलालहरूले असाइलम प्रक्रिया सुरु गर्न निम्न चरणहरू सिकाउने गर्छन् ।

  • दर्ता प्रक्रिया (Registration): सबैभन्दा पहिले सम्बन्धित देशको आप्रवासन निकायमा गएर आफ्नो नाम दर्ता गराउन सिकाइन्छ। जहाँ आवेदकको औँठा छाप र व्यक्तिगत विवरण लिइन्छ।
  • आवेदन फाराम र कारण: आवेदन भर्दा आफ्नो देश छोड्नुको कारण खुलाउनुपर्ने हुन्छ। यहीँनिर दलालहरूको भूमिका सुरु हुन्छ। उनीहरूले आवेदकलाई आफ्नो देशमा ज्यानको खतरा रहेको वा राजनीतिक/सामाजिक उत्पीडनमा परेको नक्कली कारण लेख्न लगाउँछन्। मंगोलियन अनुहार भएका केही व्यक्तिलाई तिब्बती भाषा सिकाइन्छ र तिनीहरूलाई तिब्बती शरणार्थी भनेर आवेदन गर्न लगाइन्छ।

कागजातको तयारी र किर्ते कागजातको खेती :

धेरैजसो अवस्थामा दलालहरूले नेपालबाटै नक्कली कानुनी कागजात, धम्की आएका पत्रहरू वा झुटा पुलिस रिपोर्टहरू बनाउन लगाएका हुन्छन्, जसलाई असाइलमको बलियो आधार मानिन्छ। यदि नेपालबाट कागज बनाएर नल्याइएको भए, पैसा लिएर दलालहरूले केही कागजात पेरिसमै पनि तयार पार्छन्। विभिन्न कागजातहरू नेपालमै बनाउन लगाएर मगाउँछन्।


नक्कली शरणार्थी बन्नका लागि चाहिने कागज नेपालका विभिन्न सरकारी तथा संस्थाहरूबाट कागज मगाउने

त्यस्ता कागजातहरूमा प्रायः निम्न समावेश हुन्छन्:

  • ज्यान मार्ने धम्की आएको भनिएको पत्र
  • चन्दा मागेको नक्कली रसिद वा पत्र
  • प्रहरीमा दर्ता गरिएको झुटो उजुरी वा पक्राउ पुर्जी
  • कुटपिट भएको देखाउन अस्पतालको नक्कली मेडिकल रिपोर्ट
  • विदेशी अधिकारीलाई झुक्याउन बनाइएका नक्कली समाचार वा पत्रिकाका कटिङहरू
  • श्रीमान्/श्रीमती सँगै भए पनि ‘डिभोर्स’ भएको देखाउने नक्कली कागजात
  • जातीय विभेद वा उत्पीडन भएको भनेर तयार पारिएको प्रहरी रिपोर्ट
  • नेपालमै पहिले खिचिएका फोटोहरूलाई घटनासँग जोडेर प्रस्तुत गरिने सामग्री
  • नगरपालिका वा वडा कार्यालयका सिफारिस पत्र (नक्कली रूपमा तयार गरिएको)

नेपालका स्थानीय निकायहरूमा एकीकृत डिजिटल प्रणाली र अनलाइन रेकर्डको अभाव हुनाले विदेशी अध्यागमन अधिकारीहरूलाई नेपाली कागजातहरूको आधिकारिकता तत्काल प्रमाणीकरण गर्न निकै कठिन हुने गरेको छ। स्थानीय भाषा, सरकारी छाप र प्रशासनिक प्रक्रियाबारे विदेशी निकायहरूलाई पूर्ण ज्ञान नहुनु तथा कागजातको अनुवाद र सत्यापन (Verification) प्रक्रिया झन्झटिलो हुनुले पनि किर्ते कागजातहरू सुरुवाती चरणमा सजिलै स्वीकृत हुने गर्छ। यही प्राविधिक र प्रशासनिक कमजोरीको फाइदा उठाउँदै नेपालीहरूले मोटो रकम तिरेर नेपालमै नक्कली कागजात बनाउने र त्यसकै आधारमा आफ्नो ‘असाइलम’ केस बलियो बनाउने गरेको देखिन्छ।

सामाजिक सञ्जालमा आफ्नो रियल आइडी लुकाउने र नयाँ पहिचानको रणनीति

युरोप वा अन्य विकसित देशहरूमा ‘असाइलम’ (शरणार्थी) फाइल गर्नुअघि धेरै आवेदकहरूले आफ्नो डिजिटल परिचय बदल्ने गर्दछन् जुन कुरा दलालहरूबाट सिकाइन्छ। कतिपयको भनाइ अनुसार, सरकारी निकायहरूले कहिलेकाहीँ सामाजिक सञ्जाल वा सार्वजनिक गतिविधिहरूबाट पनि जानकारी जाँच्ने प्रयास गर्छन्। त्यसैले सामाजिक सञ्जालमा वास्तविक नाम प्रयोग नगर्ने, प्रोफाइल परिवर्तन गर्ने, नेपालका फोटोहरू हटाउने वा व्यक्तिगत जानकारी कम सार्वजनिक गर्ने गर्ने गर्दछन्।


सामाजिक सञ्जालमा रहेका फोटो भिडियो प्राइभेट गर्न लगाउने, सोसल मिडिया एकाउन्टको नाम फेरेर नयाँ बनाउन लगाउने

१. डिजिटल प्रमाणहरूको मेटाउने (Social Media Id Change or Delete)

आफूलाई पूर्ण रूपमा ‘पीडित’ प्रमाणित गर्न धेरैले आफ्नो फेसबुक, टिकटक वा अन्य सामाजिक सञ्जालबाट पुराना विवरणहरू हटाउँछन्। यसमा मुख्यतया:

  • नेपालका पुराना र रमाइलो गरेका फोटोहरू।
  • नेपालका राजनीतिक दलहरूसँगको सक्रिय संलग्नता वा पद झल्किने पोस्टहरू।
  • नेपालमा रहेको पारिवारिक र सुखद जीवनशैली देखिने विवरणहरू।

२. नयाँ र ‘पीडित’ पहिचानको सिर्जना

कतिपयले आफ्नो वास्तविक परिचय लुकाउन वा केस बलियो बनाउन पुरानो एकाउन्ट डिलिट गर्ने वा नयाँ नाम र प्रोफाइल बनाएर प्रयोग गर्ने गर्छन्। यसो गर्दा:

  • विदेशी अध्यागमन अधिकारीहरूले अनलाइन सर्च गर्दा व्यक्तिको विरोधाभासपूर्ण इतिहास फेला पार्न सक्दैनन्।
  • नयाँ प्रोफाइलमा केवल आफू अन्यायमा परेको, धम्की आएको वा असुरक्षित रहेको कुरा मात्र प्रस्तुत गरिन्छ।

‘बलियो तर झुटो कथा’ (Scripted Story) को तालिम

असाइलम स्वीकृत गराउन सबैभन्दा महत्त्वपूर्ण चरण अन्तर्वार्ता (Interview) हो। सामान्यतया असाइलम आवेदन दिएपछि केही समयपछि अन्तर्वार्ताको मिति तोकिन्छ। पेरिसमा रहेका दलाल र तिनका सहयोगीहरूले यसका लागि विशेष ‘कोचिङ’ वा तालिम दिने गर्दछन्। असाइलम स्वीकृत गराउन सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको ‘बलियो तर झुटो कथा’ (Scripted Story) तयार गर्नु हो। दलालहरूले नयाँ आउनेलाई असाइलम प्रक्रियाबारे जानकारी दिने, अन्तर्वार्तामा कसरी बोल्ने, कस्तो कथा प्रस्तुत गर्ने, र कस्ता कागजात आवश्यक पर्छ भन्ने सल्लाह दिने गर्दछन्। दलालहरूले नयाँ आउने शरणार्थीलाई कथालाई व्यवस्थित तरिकाले तयार पार्न, अभ्यास गर्न, र सम्भावित प्रश्न–उत्तरको तयारी गर्न सहयोग गर्छन्। यसैगरी, दलालहरूले अफिसरहरूसँग कसरी कथा पेश गर्ने, झुट बोल्ने तरिका सिकाउने, र पूरा कथा अभ्यास गर्ने प्रक्रिया समेत गराउने गरेको छ।


असाइलम गर्न नक्कली कहानी बनाएर त्यही कथामा कथा प्रस्तुत गर्न सिकाउने प्रक्रिया

पेरिस लगायतका युरोपेली सहरहरूमा बसोबास गरिरहेका केही पुराना व्यक्ति, दलाल वा गिरोहले नयाँ आउनेहरूका लागि विशेष ‘कोचिङ’ कक्षाहरू सञ्चालन गर्ने गर्छन्। उनीहरूले निम्न पक्षमा केन्द्रित भएर प्रशिक्षण दिन्छन्:

योजनाबद्ध प्रशिक्षण (Coaching)

पेरिस लगायतका युरोपेली सहरहरूमा बसोबास गरिरहेका केही पुराना व्यक्ति, दलाल वा गिरोहले नयाँ आउनेहरूका लागि विशेष ‘कोचिङ’ कक्षाहरू सञ्चालन गर्ने गर्छन्। उनीहरूले निम्न पक्षमा केन्द्रित भएर प्रशिक्षण दिन्छन्:

  • कथाको तयारी: कुन राजनीतिक दल वा समूहको नाम लिने, कुन क्षेत्रमा कस्तो समस्या भएको देखाउने र कस्तो घटनाक्रम प्रस्तुत गर्ने भनी पूरा कथा कण्ठ गराइन्छ।
  • प्रश्न-उत्तर अभ्यास (Mock Interview): अन्तर्वार्तामा अधिकारीहरूले सोध्न सक्ने सम्भावित प्रश्नहरू र तिनका चलाखीपूर्ण उत्तरहरूको २-३ महिनासम्म पटक-पटक अभ्यास गराइन्छ, ताकि आवेदक नहडबडाओस्।
  • भावनात्मक अभिनय: अन्तर्वार्ता लिने अधिकारीको सहानुभूति जित्नका लागि कसरी प्रस्तुत हुने, कुन कुरामा जोड दिने, र कुन समयमा डराएको वा रोएको जस्तो अभिनय गर्ने भन्ने ‘स्क्रिप्ट’ नै तयार पारिन्छ।


उत्पीडनमा परेको काल्पनिक कहानी भनेर अन्तर्वार्तामा प्रभाव पार्ने कला


कथाका मुख्य विषयवस्तुहरू (Common Themes)

असाइलम बलियो बनाउन प्रायः निम्न काल्पनिक कथाहरूको सहारा लिइने गरिन्छ:

  • राजनीतिक र विद्रोही धम्की: नेपालमा माओवादी वा अन्य समूहले चन्दा मागेको वा ज्यान मार्ने धम्की दिएको।
  • राज्यको दमन: प्रहरीले विनाकारण दुःख दिएको वा झुटा मुद्दा लगाएको।
  • सामाजिक विभेद: जातीय, लैङ्गिक वा धार्मिक उत्पीडनमा परेको काल्पनिक विवरण।

रेफुजी हुनका लागि सबैभन्दा ठूलो कुरा ढाँट्न जान्नु पर्छ।

शरणार्थी बन्ने क्रममा कतिपय नेपालीहरूले कथा र रणनीति (ढाँट्न) बनाउन धेरै अनुभव देखाएका छन्। असाइलम पाउने क्रममा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको — कथा राम्ररी प्रस्तुत गर्न जान्नु र आफ्नो स्थिति कमजोर देखाउनु हो। यसमा कुशल नहुँदा वा सचेत नहुँदा प्रक्रिया बिग्रन सक्छ।

फ्रान्समा शरणार्थी मान्यता पाएपछि त्यसका मुख्य उपलब्धिहरू (Refugee Benefits):

  • आवास: १० वर्षको ‘Carte de Résident’ (काम गर्ने अधिकार सहित)।
  • परिवार: श्रीमान/श्रीमती र १८ वर्षमुनिका छोराछोरी ल्याउन पाउने (Family Reunification)।
  • आर्थिक: CAF मार्फत आवास भत्ता र बाल भत्ता।
  • यात्रा: आफ्नो देश बाहेक अन्यत्र जान ‘Titre de Voyage’ (Travel Document)।

असाइलम अवस्थामा लुकेर नेपाल जाने नेपालीहरूको बाठो तरिका

शरणार्थी स्टाटस पाउनुको अर्थ आफ्नो देशमा खतरा रहेको मान्यता हो, त्यसैले सामान्यतया आफ्नो जन्मदेश फर्किन अनुमति हुँदैन। शरणार्थीलाई दिइने Refugee Travel Document ले अन्य देशमा यात्रा गर्न अनुमति दिन्छ, तर आफ्नो जन्मदेश जान पाइँदैन। तर, कतिपय ‘बाठा’ नेपालीहरू फ्रान्सबाट जहाजमा भारतको दिल्ली वा मुम्बई उत्रिने र त्यहाँबाट खुला सिमाना हुँदै नेपाल छिर्ने गर्छन्। नेपालमा रहँदा मोबाइल बन्द गर्ने र कुनै पनि फोटो सार्वजनिक नगर्ने जस्ता सावधानी अपनाएर उनीहरूले विदेशी कानुनलाई चुनौती दिइरहेका छन्।


रेफ्युजी कार्ड पाएपछि भारत हुँदै नेपाल छिर्ने तरिका

असाइलम अस्वीकृत (Reject) भएपछिका वैकल्पिक प्रयासहरू

यदि असाइलम आवेदन अस्वीकृत भयो भने पनि धेरैजसो आवेदकहरू तुरुन्तै स्वदेश फर्कन चाहँदैनन्। यस्तो अवस्थामा उनीहरूले बसोबास जारी राख्न निम्न कानुनी वा गैरकानुनी उपायहरू अपनाउने गरेको पाइन्छ:


असाइलम रिजेक्ट भएपछि फ्रान्समा बस्न नक्कली विवाह गरिदिने समूह / विवाह गर्ने कार्य
  • नक्कली विवाह (Paper Marriage/Fake Marriage): कतिपयले दलाल वा बिचौलियामार्फत मोटो रकम तिरेर सम्बन्धित देशको नागरिक वा पीआर (PR) बाहकसँग ‘कागजी विवाह’ गर्छन्। यसको मुख्य उद्देश्य पारिवारिक पुनर्मिलनको आधारमा बसोबासको अनुमति (Residency Permit) प्राप्त गर्नु हो।
  • लुकेर बस्ने (Undocumented/Illegal Stay): आवेदन अस्वीकृत हुनेबित्तिकै तुरुन्तै देश निकाला (Deportation) हुँदैन। त्यसैले धेरै मानिसहरू सरकारी नजरबाट बँच्न केही समय लुकेर बस्ने र अवैध रूपमा काम गर्ने गर्छन्।
  • पुनः आवेदनको प्रयास: केही वर्षको अन्तरालपछि वा नयाँ प्रमाणहरू जुटाएको दाबी गर्दै फेरि अर्को प्रक्रियाबाट असाइलम वा मानवीय आधारमा बसोबासको अनुमति माग्ने प्रयास गरिन्छ।
  • कानुनी लडाइँ: पहिलो निर्णय चित्त नबुझेमा माथिल्लो अदालतमा पुनरावेदन (Appeal) गरेर प्रक्रियालाई लम्ब्याउने रणनीति पनि धेरैले अपनाउँछन्।

Notice: The image used in this article is generated using Artificial Intelligence (AI) and is for illustrative purposes only.



 





Comments

Popular posts from this blog

के हो असाइलम र रेफ्युजी ?

असाइलम प्रक्रिया र रिफ्युजी कार्ड तर्फ किन नेपालीको आकर्षण